काठमाण्डाै – रुपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेको र बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लुम्बिनीमा उच्च सतर्कतासहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ । लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।
यस्तै नुवाकोटको त्रिशूली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सडकबाट सकेसम्म यात्रा नगर्न भनिएको छ ।
तिनाउ, त्रिशूलीसहित बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ ।
पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी–सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि आइतवारसम्म नै देशका धेरै ठाउँमा वर्षा हुनेछ ।








