जितपुर ।
मनकामना सामुदायिक वन उपभोक्ता समूह, नन्दनगरको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभामा वनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले सामुदायिक वनहरू नगरको समृद्धिका संवाहक बनेको बताउनुभयो । विगतमा वन तथा सामुदायिक वनले जनसरोकारका विषयलाई पर्याप्त प्राथमिकता नदिने गरेको स्मरण गर्दै उहाँले अहिले सामुदायिक वनले स्थानीय तहसँगको सहकार्यमा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले कानुनी व्यवस्थाअनुसार सामुदायिक वनले स्थानीय तह, उपभोक्ता समूह तथा महिला, दलित र अपाङ्गता भएका व्यक्तिहरूसँग सहकार्य गरी उनीहरूको जीविकोपार्जनमा समेत सहयोग पुर्याएको उल्लेख गर्नुभयो । सामुदायिक वनले पूर्वाधार विकाससँगै सामाजिक कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै मनकामना सामुदायिक वनले समेत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले मनकामना सामुदायिक वनले उपभोक्ताको हितमा काम गर्दै आएको र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।
साधारण सभामा आगामी आर्थिक वर्षका लागि करिब ९ करोड १४ लाख ५० हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
सामुदायिक वनका अध्यक्ष मुक्तबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गंगाकुमारी भट्टराईले गर्नुभएको थियो । स्वागत मन्तब्य समुहका उपाध्यक्ष पुष्कर घिमिरेले गर्नुभएको थियो ।
साधारण सभामा सुझाव सल्लाह सहित विभिन्न संघसंस्थाका प्रतिनिधी बैरिया युवा समाजका सचिव सागर घिमिरे, निवर्तमान अध्यक्ष अमित पौडेल, सव डिभिजन बन प्रमुख दिनेश जयसवाल लगाएतले बन संरक्षण संगै उपभोक्ता तथा सामुदायिक विकासमा बनका गतिविधी केन्द्रित रहेकोले प्रशंसा गरेका थिए ।










