तस्बीर ः एआइ
किरणमान बज्राचार्य, कपिलवस्तु ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय प्रतियोगीताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट भएका छन ।
जिल्ला खेलकुद विकास समितिले तौलिहवा स्थित कभर्ड हलमा कार्तिक १६ र १७ गते सम्पन्न प्रतियोगीतामा ५ पुरुष र ५ महिला गरी १० जना खेलाडी छनोट भएका हुन । छनोट भएका खेलाडीहरु लुम्बिनी प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुनेछन । त्यसबाट उनीहरु राष्ट्रिय प्रतियोगीतामा छनौट हुनेछन ।
पुरुष तर्फ सबिन श्रेष्ठ, अभय महरा, मशे गुप्ता, आसुतोश कसौधन र शिभव कसौधन तथा महिलाहरुमा बिल्क्षणा सिंह, रबिना बिष्ट, एमी चौधरी, सम्बृद्धि शाक्य र कृत्रि शाक्य छनोट भएका हुन ।
जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कुल ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यले जिल्लाभरिका खेलाडीलाई सहभागी गराउँदै खेलाडीको नाम छनोट गरिएको बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद बेल्वासेले उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको बताए । त्यस्तै, जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष रितेश थापाले छनोट भएका खेलाडीलाई आउने छनोटमा उत्कष्ट प्रर्दशन गर्न आग्रह गरे ।
अभिभावक विनायक सिंहले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र राष्ट्रिय स्तरमा कपिलवस्तुको पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगिता सञ्चालन तथा खेलाडी छनोट प्रक्रियामा मो. हुसेन, त्रिविक्रम जोशी र सिद्धार्थ कार्कीले प्राविधिक सहयोग गरेका थिए ।
छनौट खेलाडीको प्रशिक्षण समेत सुरु भएको प्रशिक्षक शाक्यले बताए ।








