वैखरी अनलाइन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सञ्चालित सर्प पहिचान तथा सर्प उद्धारसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
बुद्धभूमि नगरपालिका र नगर युवा परिषद्को समन्वयमा आयोजित तालिम शुक्रबार दिउँसो गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा सम्पन्न भएको हो।
नगर प्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तेजबहादुर बस्नेत, वडा नं. ९ का वडा अध्यक्ष प्रमोद आचार्य, इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रमुख, प्रशिक्षक कमल देवकोटा, सहायक प्रशिक्षक चेतबहादुर सारु मगर र नवीन भण्डारीलगायतको उपस्थिति रहेको थियो।

तालिममा बुद्धभूमि नगरपालिकाभित्रका ५० जना सहभागीलाई सर्पको पहिचान, सुरक्षित उद्धारका विधि तथा उद्धारका क्रममा अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिमको समापनका अवसरमा सहभागीहरूलाई सर्प उद्धारका लागि आवश्यक सामग्री टङ्स (Tongs), स्नेक ब्याग (Snake Bag), बुट (Boots) तथा स्नेक होल्डर (Snake Holder) समेत वितरण गरिएको थियो।
समुदायमा सर्पदंशबाट हुने जोखिम न्यूनीकरण, सर्पको सुरक्षित उद्धार तथा मानव र सर्पबीचको द्वन्द्व कम गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
तालिमले स्थानीय स्तरमा दक्ष सर्प उद्धारकर्मी उत्पादन गर्नुका साथै सर्पदंशका घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।







