गृहपृष्ठ Featured पैसा सकिएपछि यात्रुलाई अलपत्र पारेको पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा

पैसा सकिएपछि यात्रुलाई अलपत्र पारेको पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा

विश्व भ्रमणमा रहेको अमेरिकी विलासी पानीजहाजलाई सिङ्गापुरमा नियन्त्रणमा लिइएको छ । यो जहाज सञ्चालन गर्ने अमेरिकी कम्पनीसँग पैसा सकिएपछि गएको महिना कम्बोडियामा झन्डै २०० यात्रुहरूलाई जहाजबाट ओर्लन बाध्य पारिएको थियो ।

‘द ओडिसी’ नामक जहाज सन् २०२४ को अक्टोबरमा उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टबाट प्रस्थान गरेको थियो । स्थानीय अधिकारीहरूका अनुसार यो अहिले सिङ्गापुरको बन्दरगाहमा रोकिएको छ ।

यो जहाजले साढे ३ वर्षमा १५० देशहरूको यात्रा पूरा गर्ने गरी तय गरिएको थियो । तर जहाजको स्वामित्व रहेको कम्पनी ‘भिल्ला भि रेसिडेन्सेस’ ले इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धिलाई कारण देखाउँदै भ्रमण रोकेको थियो ।

सिङ्गापुर पोर्ट अथोरिटीका अनुसार जहाजका चालक दलका सदस्यहरू सुरक्षित छन्, उनीहरूको बसोबास र हेरचाहको व्यवस्था जहाजका ऋणदाताहरूद्वारा गरिँदै छ । अदालतको आदेश बमोजिम यो जहाजलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

यस विषयमा सिङ्गापुरमा रहेको ’हेल्म्सम्यान एलएलसी’ लाई जफतसम्बन्धी प्रक्रियाको रेखदेख गर्ने कानूनी फर्म का रूपमा नियुक्त गरिएको छ । यद्यपि उनीहरूले कुन पक्षको प्रतिनिधित्व गरिरहेका छन् भन्ने कुरा स्पष्ट नभएको खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार