अर्घाखाँची — तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
विद्यालय नजिकैका केही शिक्षक–विद्यार्थी भने स्कुलमा फूलखेती जोगाउँदै बिक्री गर्न व्यस्त छन् । तिहारका लागि फूल किन्न सन्धिखर्कबाट व्यापारीसहित ग्राहक स्कुलमा पुगेर किन्ने गरेका छन् । दिनभर शिक्षक र विद्यार्थीले फूल टिप्दै बिक्री गर्छन् ।
\फूल टिप्दै बिक्री गर्दा सोमबार डेढ क्विन्टल फूल बिक्री भएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश भुसालले बताए । सोमबार आठ जना विद्यार्थी र पाँच जना शिक्षकले दिनभर फूल टिपेर बिक्री गरे । दुई रोपनीभन्दा बढी क्षेत्रफलमा फूलखेती छ । तिहारमा बिक्री गर्ने उद्देश्यले खेती गरिएको हो । सयपत्री फूल प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री भएको छ । अहिलेसम्म एक लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।







