पाल्पा — सत्यवती बज्यैको नयाँ मन्दिर निर्माण सम्पन्न भएको छ। पुरानो मन्दिर जीर्ण भएकाले गाउँपालिकाको सहयोगमा मन्दिर विकास समितिले नयाँ मन्दिर निर्माण गरेको हो।
पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडास्थित सत्यवती ताल परिसरमा ६५ लाख रुपैयाँभन्दा बढी लागतमा तीनतले मन्दिर निर्माण गरिएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए।
मन्दिर निर्माण सम्पन्न भएसँगै यस वर्ष कात्तिके पूर्णिमाको अवसरमा लाग्ने सत्यवती मेलामा आउने भक्तजनले नयाँ मन्दिरमा पूजा गर्न पाउने उनले बताए। तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नवनिर्मित तीनतले सत्यवती बज्यैको मन्दिर उद्घाटन गरे।
‘पुरानो मन्दिर धेरै जीर्ण र सानो थियो,’ उनले भने, ‘मन्दिर सत्यवती ताल क्षेत्रको गुरुयोजनाअनुसार नै बनेको छ।’ मन्दिर निर्माणमा गाउँपालिका र मन्दिर समितिको गरी ६५ लाख ५८ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ। जसमा तिनाउ गाउँपालिका कार्यालयको २५ लाख र सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समिति तिनाउ–४ को ४० लाख ५८ हजार ४१८ रुपैयाँ खर्च भएको छ।
यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिका लागि गाउँपालिकाले १५ लाख र मन्दिर समितिले १५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।
यस वर्ष मंसिर ४ देखि ८ गतेसम्म सत्यवती मेला आयोजना हुँदैछ। मंसिर ७ र ८ गते पूर्णिमाको विशेष पूजा हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मेलालाई व्यवस्थित बनाउन सडक मर्मत, मन्दिर परिसर व्यवस्थापन, प्रकाशको व्यवस्था र सुरक्षाका लागि सीसीटीभी क्यामेरा जडान गरिएको समितिले जनाएको छ। मेलामा मदिराजन्य पदार्थ निषेध गरिएको छ।
सत्यवतीमा चिच्याएर वर माग्ने परम्परा यहाँको मुख्य आकर्षण हो। कसैले सन्तान, कसैले रोजगारी, विदेश यात्रा त कसैले परिवारको सुखशान्तिको कामना गर्छन्। एक जनाले एउटा मात्रै वर माग्नुपर्ने र वर मागेपछि पछाडि नफर्की घर जानुपर्ने मान्यता रहेको वडाध्यक्ष तुलबहादुर आलेले बताए। मनोकामना पूरा भएपछि भाकलअनुसार बोका, राँगा, परेवा र हाँसलगायत चढाएर पूजा गर्ने चलन रहेको उनले बताए।






