गृहपृष्ठ Featured मेयर अर्यालद्वारा एनएमबी बैंकको बनगाई शाखा उद्घाटन

मेयर अर्यालद्वारा एनएमबी बैंकको बनगाई शाखा उद्घाटन

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाईमा स्थापना भएको एनएमबी बैंकको शाखाको एक भव्य समारोहका बीच बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभएको छ।
शाखाको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले एनएमबी बैंकले बाणगंगा नगरपालिकामा लामो समयदेखि वित्तीय कारोबार गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकामा वित्तीय सेवा प्रवाहका साथै सामाजिक सुरक्षा भत्ता वितरणलगायत नगरपालिकाका विभिन्न काममा बैंकसँग समन्वय र सहकार्य हुँदै आएको बताउनुभयो।

बैंक तथा वित्तीय संस्थाहरू स्थानीय आर्थिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले नागरिकलाई सहज, सरल र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
बनगाई क्षेत्रमा बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीय नागरिक, व्यवसायी, कृषक तथा सेवाग्राहीलाई बैंकिङ कारोबारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै बैंकिङ सेवा उपलब्ध हुँदा बचत, कर्जा, रेमिट्यान्स तथा अन्य वित्तीय कारोबारमा सहजता आउने विश्वास गरिएको छ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, एनएमबी बैंक चनौटा शाखाका प्रमुख लालबहादुर भण्डारी, गोरुसिंगे तथा जितपुर शाखाका प्रमुखलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले बैंकको शाखा विस्तारले स्थानीय क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।कार्यक्रम बनगाई शाखाका प्रमुख कृष्ण खनालको सहजीकरणमा सम्पन्न भएको थियो।

सम्बन्धित् समाचार