कपिलवस्तु । कपिलवस्तुकाे शिवराज स्थित कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहले कार्यक्षेत्र भित्रका २२ वडामा पार्क निर्माण, पोखरी संरक्षण तथा सडक किनारमा वृक्षरोपण गर्ने योजना अघि सारेको छ ।
वन संरक्षण, वृक्षरोपण, बिरुवाको संरक्षण तथा खाली र सार्वजनिक जग्गामा हरियाली विस्तार, पार्क निर्माण र पाेखरी निर्माण गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने साझेदारी वनका अध्यक्ष गंगेश तिवारीले बताए। स्थानीय समुदायको सहभागिता र सम्बन्धित निकायसँगको सहकार्यमा बृहत् हरियाली अभियान सञ्चालन गरिने उनको भनाइ छ।
वातावरणीय सन्तुलन कायम राख्दै स्वच्छ, हराभरा र सुन्दर समाज निर्माण गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने तिवारीले प्रतिबद्धता व्यक्त गरे। तिवारीले सात करोड १५ लाख रुपियाँभन्दा बढीको लागतमा वन विकास र सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।
समूहले स्थानीय तह तथा समुदायसँग समन्वय गरी विभिन्न वडामा पार्क निर्माण, पोखरी तथा जलस्रोत संरक्षण र सडकछेउमा वृक्षरोपण गर्ने योजना बनाएको अध्यक्ष तिवारीकाे भनाइ छ ।
स्थानीय स्रोतसाधनको संरक्षण र सदुपयोग गर्दै उपभोक्तालाई वनसँग जोडेर आयमूलक कार्यक्रममा समेत लगानी गर्ने समूहको योजना रहेको उनले बताए । डिभिजन वन कार्यालय (गौतम बुद्ध) चन्द्रौटाका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले वनले काठ र दाउराको स्रोतका रूपमा मात्र नभई मानव जीवन, वन्यजन्तु र जैविक विविधता संरक्षणको महत्त्वपूर्ण भूमिकामा साझेदारी निर्वाह गरेको बताए ।
साझेदारी वनले समूहले वन संरक्षणसँगै वातावरण संरक्षण र समुदायको आयआर्जनलाई जोड्ने गरी वन समूहको आठौँ साधारण सभामा निर्णय गरी आगामी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
समूहको कार्यक्षेत्र कपिलवस्तुका शिवराज, बुद्धभूमि, कृष्णनगर र महाराजगन्ज नगरपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका गरी २२ वडामा फैलिएको छ ।
ती वडामा एक लाख २२ हजार ३९३ उपभोक्ता छन्। वन समूहले वन संरक्षणसँगै स्थानीय समुदायलाई सहुलियत मूल्यमा काठदाउरा उपलब्ध गराउँदै आएको छ ।







