दशैं र तिहारलगायतका चाडपर्व सकिएसँगै बिहेको याम सुरु भएको छ। मंसिर महिना लागेदेखि नै बिहेका लागि सुनचाँदी किन्ने बढेका छन्। तर, यही बेला बजारमा सहजै सुन पाइएको छैन। किनकि, सुनको मूल्य घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। जबकि, आजभन्दा १० महिनाअघि २०८२ माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। पछिल्लो १० महिनामा सुनको मूल्यमा ९७ हजार नौ सय रुपैयाँले गिरावट आएको छ।
गत केही वर्षयता निरन्तर उकालो लागेको सुनको मूल्य एकाएक तल्लो विन्दुतिर किन ओर्लियो त? यसका पछाडि केही विशेष कारणहरू छन्।
नेपाली बजारमा तय हुने सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ। सोही आधारमा नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य निर्धारण गर्छ।
अर्कोतर्फ, सुनको मूल्य नेपाली बजारमा मात्रै घटेको होइन। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।
अन्तर्राष्ट्रिय बजारमा सन् २०२५ मा मात्रै ५३ पटक नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य सन् २०२६ को जनवरीमा आइपुग्दा प्रतिऔंस पाँच हजार ५८९ अमेरिकी डलरभन्दा माथि पुगेको थियो। तर, त्यसयता निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य बुधबार प्रतिऔंस तीन हजार पाँच सय डलरको हाराहारीमा झरेको छ। यो सन् २०२५ को सेप्टेम्बरयताकै न्यून मूल्य हो।
पछिल्लो एक सातामै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब १० प्रतिशतले घटेको छ। यसअघि लगातार बढिरहेको सुनको मूल्यमा आएको यो तीव्र गिरावटले लगानीकर्ता, सुन व्यवसायी तथा उपभोक्त प्रभावित भएका छन्।
सुनको मूल्यमा आएको यो गिरावट कुनै एउटा घटनाको परिणाम नभई अन्तर्राष्ट्रिय वित्तीय बजारमा विकसित विभिन्न परिस्थितिको संयुक्त प्रभाव हो। अमेरिकी सञ्चारमाध्यम सीएनबीसीलाई लन्डनस्थित बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डकी कमोडिटी रिसर्च प्रमुख सुकी कुपरले बताएअनुसार, यसअघि सुनको मूल्यलाई ऐतिहासिक उचाइमा पुर्याउन विभिन्न कारण एकैपटक सक्रिय भएका थिए। अहिले भने त्यसको ठीक विपरीत प्रकृतिका कारण एकैसाथ प्रभावकारी हुँदा सुनको मूल्यमा गिरावट आएको हो।
सुनले वस्तु (कमोडिटी) र मुद्रा (करेन्सी) दुवैको भूमिका निर्वाह गर्छ। बजारमा कुन पक्ष हाबी हुन्छ र लगानीकर्ताको मनोविज्ञान कस्तो हुन्छ भन्ने आधारमा पनि सुनको मूल्य प्रभावित हुने गर्छ।







