गृहपृष्ठ खबर कपिलवस्तुमा लागुऔषध र नगदसहित श्रीमान श्रीमति पक्राउ

कपिलवस्तुमा लागुऔषध र नगदसहित श्रीमान श्रीमति पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ८ सय ५५ ट्याब्लेट र ४२ हजार २ सय रुपैयाँ नगदसहित श्रीमान्–श्रीमती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा करिब ५० वर्षीया रोजिना खातुन र उनका श्रीमान् करिब ५५ वर्षीय हाकिक उल्लाह मुसलमान रहेका छन् ।

प्रहरीका अनुसार मंसिर १२ गते साँझ प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक गणेश जैशीको कमाण्डमा खटिएको १० जनाको टोलीले शुद्धोधन गाउँपालिका–४, मोतिभारीस्थित रोजिना खातुनको घरबाट २ सय २८ ट्याब्लेट प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।

त्यसैगरी, उनका श्रीमान् हाकिक उल्लाह मुसलमानले सञ्चालन गर्दै आएको शुद्धोधन गाउँपालिका–३, लवनीस्थित अल्सिफा स्वास्थ्य क्लिनिकबाट ७ सय २७ ट्याब्लेट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट बरामद गरिएको लागूऔषध र ४२ हजार २ सय रुपैयाँ नगदसहित श्रीमान्–श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार