कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको घिमिरे एग्रोभेट सेन्टरलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख जरिवाना तोकेको छ । यस वर्ष एग्रोभेटले जिल्लाका किसानलाई विक्रि गरेको गरिमा जातको धानमा ठगि गरेको र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ङ बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ उपदफा १ को खण्ड १ ख बमोजिम रु २ लाख जरिवाना गरेको विभागका निरिक्षक अधिकृत दिपकराज पोख्रेलले बताए ।

पहिलो पटकका लागि २ लाख रुपैया जरिवाना गरिएको जनाउँदै विभागले सात दिन भित्र विभागको कार्यालयको नाममा रहेको एनएमबी वैँक खातामा राजश्व जम्मा गर्न समेत एग्रोभेट संचालकलाई निर्देशन गरेको छ । तोकिएको अवधि भित्र राजश्व नबुझाएमा उपभोक्ता ऐन २०७५ बमोजिम थप कारवाही प्रक्रिया अगाडि बढार्ईने पनि विभागले जनाएको छ । विभागका निरिक्षण अधिकृत दिपकराज पोख्रेलको नेतृत्वमा खटिएको टोलीले सनिवार एग्रोभेट संचालक ताराजन घिमिरेलाई सो जरिवाना तोकेको हो । घिमिरे एग्रोभेटबाट खरिद गरेको रसिद सहित २३ जना कृषकले यस अगाडी बाणगंगाको कृषि शाखामा उजुरी गरेको शाखा प्रमुख लेस बहादुर के.सी ले बताए । वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड सँगै वडा नम्बर ६, ७ , ८ लगाएतका वडाभित्रका किसानहरु धानवालीका गुनासा बोकेर यस अगाडी नगरपालिकामै पुगेका थिए । विशेष गरी धानमा बाला नलाग्ने समस्या “गरिमा” जातको धान रोपेका किसानको खेतमा यो समस्या देखिएको थियो । किसानले धान रोपेको १ सय ३५ दिनमा बाला लाग्ने अर्थात धान पसाउनुपर्ने भएपनी उक्त जातको धानमा वाला लागेको थिएन् । यता एग्रोभेट संचालक घिमिरेले उक्त क्षेतीपुर्ती कम्पनीले तिर्नुपर्ने र यस विरुद्ध पुनरावेदन गर्ने जनाएका छन् ।
उक्त जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरको पाईएको हो । धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रमुख सुनिता चौधरीसँग बुझ्दा उनले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइने गरेको बताईन । उनले भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गरेकि छन् । रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको देखिन्छ । सनराइज एग्रीकल्चर रिसर्च सेन्टर टिकुलीगढ, देउखुरीले विभिन्न छ वटा केन्द्रमार्फत गरिमा धानको बीउ बिक्री गरेको हो ।








