गृहपृष्ठ Featured रक्तस्रावका कारण कपिलवस्तुकि गर्भवती महिलाको बाग्लुङमा मृत्यु

रक्तस्रावका कारण कपिलवस्तुकि गर्भवती महिलाको बाग्लुङमा मृत्यु

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ बाणंगगामा बस्ने ३३ वर्षीय भिमा पाण्डेको पाठेघरको नलि फूटेर मृत्यु भएको छ । उनी केही दिन देखि बाग्लुङको ढोरपाटन नगरपालिकामा रहेको माइत गएकी थिइन् , उनी गर्भवती थिइन् । अचानक लकडाउन भएपछि भिमा माइतबाट घर फर्किन पाइनन् , लकडाउन लम्बिँदै गयो ।

गर्भमा जम्मा ३ महिनाको बच्चा थियो । गर्भमा रहेको बच्चालाई संसार देखाउने परिवारको सपना अधुरै रह्यो। पाठेघर भन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेको (ईक्टोफिक प्रेग्नेन्सी) कारण ढोरपाटन नगरपालिका–१ स्थायी घर भई कपिलबस्तुको बाडगंगामा बस्दै आएकी भीमा भुसाल पाण्डेले गण्डकी अस्पतालमा आफ्नो अन्तिम सास फेरिन् ।

गर्भवती रहेकी उनको पाठेघर बाहिर गर्भ बसेका कारण त्यसैको असरले उनको पाठेघरमा प्वाल पारेको चिकित्सकहरुले बताएका छन् । सुत्केरी ब्यथाले चापेपछि उनलाई आफन्तहरूले सोमबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र्पुयाए । उनको अवस्था जटिल थियो, ढोरपाटनमा सुत्केरी गराउन नसकिने अवस्था आएपछि पोखरा लैजान हेलिकप्टर मगाइयो ।

‘भिमाको पाठेघरभन्दा बाहिर नलीमा बच्चा बसेको थियो’, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘नली फुटेरभित्रै रक्तस्राब भयो, तुरून्त अपरेसन गर्नु पर्ने अवस्था आयो ।’ हेलिकप्टरबाट भिमालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । अस्पताल र्पुयाउने बित्तिक्कै भिमालाई चिकित्सक टोलीले मृत घोषणा गरिदियो । चिकित्सकका अनुसार उनको निधन हेलिकप्टरमै भएको थियो । अस्पतालमा भिमाका श्रीमान र भाइ पनि साथै गएका थिए ।

१ छोरा र १ छोरीकी आमा भिमाले तेस्रो सन्तान जन्माउन जाने क्रममा हेलिकप्टरमै निधन भएको डा. मल्लले बताए ।
सोमबार बिहान नयाँ बर्षको पहिलो दिन । माईतीघरमा अरु बेलाको जस्तो नभए पनि नयाँ बर्षको रौनक थियो । तर भीमाको अनुहारमा बेचैन देखेपछि परिवारले सोधे ‘केही भएको छ ?’ ‘रिंगटा लागेको छ टाउको दुखेको छ भन्दै थिई’ भीमाका दाजु कमल भुसालले भने– ‘तत्कालै बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएससी) मा पुर्याइयो त्यहाँ उपचार गर्दागर्दै प्रेसर कम भएको भन्दै पोखरा लैजान भन्नुभयो, ग्वालीचौरको खार पुगेका थियौं प्रेसर झनै कम भएपछि त्यहीँ रोकेर हेलिकप्टर मगाउने निधो भयो ।’

परिवारका अनुसार, उनलाई अस्पताल पु¥याउन ढिलो भएकै कारण भीमाले ज्यान गुमाउनु परेको हो । उनीहरु लकडाउन पूर्व सपरिवार बुर्तिबाङ आएका थिए ।

भिमाका श्रीमान हालै मात्र वैदशिक रोजगारीबाट फर्किएका थिए  । सबैतिर नयाँ वर्षको हर्षउल्लास छाएको बेला यो परिवारमा भने नयाँ वर्ष कालो दिन बनेर आयो ।

सम्बन्धित् समाचार