गृहपृष्ठ खबर राहतमा दिईएको तेल खाँदा आधा दर्जन भन्दा बढी विरामी

राहतमा दिईएको तेल खाँदा आधा दर्जन भन्दा बढी विरामी

महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेका छन् । राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि आधा दर्जन व्यक्ति बिरामी परेका हुन् । खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको हो ।


राहतमा बाँडिएको खाने तेल खाँदा छोराछोरीहरुलाई पखाला लागेपछि आफुहरुलाई राहतभन्दा बढि आहात भएको स्थानीय उर्मिला सदाले बताइन् । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै शुक्रबार दिउँसो स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन् । गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बिरामी भएकाहरुको उपचार र दोषीलाई कारवाही गर्ने जानकारी दिए ।

उनले यो विषयमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने समेत स्पष्ट पारे । राहत सामग्री खरिद एवं प्याकिंग गर्ने क्रममा सहभागीहरुसँग स्पष्टिकरण लिने वडाध्यक्ष रामबाबु साहले बताए । गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले पखाला लागेका बिरामीलाई तत्काल उपचारको व्यवस्था गरेको छ । गौशाला नगरपालिकाको वडा नम्बर ४ मा राहतको नाममा ३ लाख ८४ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको र हालसम्म ६ सय ८० घरपरिवारलाई राहत वितरण गरिएको गौशाला नगरपालिकाको कार्यालयले जानकारी दियो ।

सम्बन्धित् समाचार