जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धि पारित गर्दा लिपुलेक कहाँ थियो भन्दै प्रश्न गरेका छन् ।
अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’ उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे ।
शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै महतोले यस्तो प्रश्न गरेका हुन् । उनले सन्धि पारित हुँदा नक्सा स्पष्ट गरेको भए अहिलेको अवस्था नआउने बताएका छन्।
याँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने निर्णय सुनाउँदै उनले मधेशी भनेपछि राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरिएको बताए।
‘मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ’, उनले भने, ‘विभेद गरे पनि सरकारले विभिन्न प्रकारले पीडा पुर्याए पनि सीमा रक्षाका लागि लडेको छ। मरेको छ।’
‘राष्ट्रघातीको अब पहिचान गर्नुपर्छ। राष्ट्रघातीलाई झुन्डाउनुपर्छ। राष्ट्रवादको परीक्षा अब मधेसमा नगर्नुस् । मधेसीलाई राष्ट्रघाती भन्ने ?’, महतोले भने महाकाली सन्धि गर्दा लिपुलेक कहाँ थियो ?उनले नक्सा बनाएर वा पारित गरेर मात्र नहुने प्रष्ट पारे । ‘जमिन चाहियो । प्रधानमन्त्रीले अब भूमि दिनुपर्यो नेपाली जनतालाई’, उनले भने ।
नेता महतोले नक्सा मात्र नभएर भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीले नक्सा बनाउने प्रस्ताव ल्याउनु भयो, हामीले सर्वदलीय बैठककमा भन्यौ नक्सा मात्रै होइन, भूमी पनि फिर्ता लिन पहल गर्नुहोस्’, महतोले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमी हो, त्यसैले अनुसुची संशोधन गर्न प्रस्ताव पेश भएको हो। मधेसीले राष्ट्रियताका कुरा गर्छ ? भनेर सोधिन्छ तर राष्ट्रियता एकल हुन्न, सबैको हुन्छ। मधेसी जनताले सीमाको रक्षा गरेका छन्, सेना पुलिस जानु पर्दैन ।’








