वैशाखखदेखि मध्य जेठसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश ५ का क्वारेन्टिनहरु खाली हुँदै गएका छन् । जेठ तेस्रो साता ४० हजार रहेका क्वारेन्टिनमा अहिले पाँच हजार जना छन् ।
भारतबाट फर्कनेहरुको संख्या धेरै हुँदा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेको थियो । पहिलो पटक गत वैशाख १७ गते एकैदिन रुपन्देही र बाँकेमा संक्रमण देखिएको थियो ।
पहाडी जिल्लामा पनि संक्रमण दर घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी बताउँछन् । रोजगारी वा अरु कामले भारत गएकाहरु फर्कने क्रम घटेको र क्वारेन्टिन बसाई पूरा गर्नेहरु बढेकाले संक्रमण दर ८.६४ प्रतिशतमा झरेको उनले बताए ।
तराईका क्वारेन्टिनहरुमा बसेकाको संख्या घट्दै जाँदा पहाडी जिल्लाहरुमा संक्रमण देखिएको थियो । प्रदेश ५ मा हालसम्म ४८ हजार ०८९ जनाको पीसीआर टेष्ट गर्दा ३ हजार ९६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये ३ हजार २०६ जना निको भएर घर फर्केका छन् भने ७६७ जना उपचारमा छन् । कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ ।
प्रदेश ५ मा कोरोना संक्रमित निको हुने दर ८० प्रतिशत हाराहारी रहेको प्रवक्ता चौधरीले बताए । ‘भारतबाट फर्केकाबाहेक समुदायमा बसेका व्यक्तिमा कोरोना संक्रमण अपवाद केस मात्र छ’, उनले भने, ‘उनीहरुसंग सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भएकाले अब संक्रमण नबढ्ने विश्वास छ ।’








