काठमाडौं : प्रहरीले लकडाउनको समयमा भारतबाट मात्र २८ जना महिलाहरुको उद्धार गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको समन्वयमा उद्धार गरेर ल्याएको जनायो।
भारतबाट २८ जनाको उद्धार गरेको गरेको हो। जेठ २९ गते १३ वर्षीया बालिकाको उद्धार गरेको थियो। २०७६ फागुन २६ गते शिवरात्रिका दिन नाबालिकालाई काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाईदिने भनि फकाईफुलाइ भारतको ओसान भन्ने ठाउँमा लगी बेचिएको उजुरी परेपछि प्रहरीले खोजी गरेको जानकारी दिएको छ। गत जेठ २९ गते भारतिय प्रहरीको समन्वयमा ब्युरोले उद्धार गरेको हो। बेचबिखनमा संलग्न २ जना पक्राउ गरी कारबाही गरिरहेको छ।
त्यस्तै असार १७ गते ६ जना महिलाहरुलई भारतदेखि कुवेत, इराक र साउदीमा राम्रो काम लगाई दिने भनी विभिन्न प्रलोभनमा पारी बेचविखनमा लगिएको भन्ने सुचनाको आधारमा छ जनालाई भारतबाट उद्धार गरी ल्याएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगंज सिमानाबाट भारतको राजधानी दिल्ली शहरको बुरारी जोरदा भन्ने ठाउँमा मार्च को १५ तारिखबाट एउटा घरको कोठामा राखी शारीरिक तथा मानसिक यातना दिएको भन्ने खबर प्राप्त भएपछि ३० जुन २०२० का दिन दिल्लीमा रहेको सामाजिक संगठन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ति पुनर्स्थापना गृहसँगको समन्वयमा यस ब्युरोले उद्धार गरेको जानकारी दिएको छ।
त्यसै गरी विभिन्न समय र मितिमा भारत गएका २१ जना महिलाहरुलाई विभिन्न संस्थाहरु र भारतस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा यस ब्युरोले असार ३१ गते उद्धार गरी काठमाडौं ल्याएको र थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।
ब्युरोले देशका विभिन्न जिल्लाबाट पनि १३ जनालाई उद्धार गरेको जानकारी दिएको छ। नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, चितवनमा २, कास्कीमा २, मकवानपुरमा १, बर्दिया १ र बाँकेमा १ जनाको उद्धार गरेको हो।








