गृहपृष्ठ अन्तरास्ट्रिय खबर बंगलादेशकी प्रधानमन्त्रीले भेट्न मानिनन् भारतीय उच्चायुक्त

बंगलादेशकी प्रधानमन्त्रीले भेट्न मानिनन् भारतीय उच्चायुक्त

गलादेश र पाकिस्तानको सम्बन्ध घनिष्ठ हुँदै गएको परिस्थितिमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले ढाकास्थित भारतीय उच्चायुक्तलाई भेट्न मानेकी छैनन् । भारतीय उच्चायुक्तले विगत चार महिनादेखि अनुरोध गरेको भए पनि शेख हसिनाले अस्वीकार गरिरहेको बुझिएको छ ।

बंगलादेशको प्रमुख पत्रिका भोरेर कागजका सम्पादक श्यामल दत्ताले लेखेअनुसार, भारतीय उच्चायुक्त रीभा गांगुली विगत चार महिनादेखि शेख हसिनासँग भेट्न खोजेको भए पनि सकेकी छैनन् । उनले लेखेका छन्, ‘भारतले चिन्ता व्यक्त गरेको भए पनि सिल्हटमा एक एयरपोर्ट टर्मिनल बनाउनका लागि बंगलादेशले एक चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । अनि बंगलादेशले कोरोना महामारीका बेलामा भारतबाट पाएको सहयोगलाई धन्यवाद दिन कुनै नोट पठाएन ।’

सिल्हट भारतको उत्तरपूर्वी राज्य नजिक भएकाले भारतका लागि संवेदनशील क्षेत्र हो । त्यसैले चिनियाँ कम्पनीले त्यहाँ एयरपोर्ट बनाउन खोज्दा भारत चिन्तित छ । विगत केही समययता ढाका र बेइजिङको निकटता बढेको छ । चीनले बंगलादेशी सामानहरूलाई ड्युटी फ्री गरिदिएको छ ।
चीनले बंगलादेशलाई कोरोनाभाइरस विरुद्धको लडाइँमा मेडिकल आपूर्तिमार्फत पनि सहयोग गरिरहेको छ । अनि बंगलादेश चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट यान्ड रोडमा पनि संलग्न छ ।

भोरेर कागजमा छापिएको एक लेखअनुुसार, शेख हसीना सरकारको एक खेमा चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा चीनको सहयोगी पाकिस्तानसँग बंगलादेशले सम्बन्ध बलियो बनाउने कोशिश गरिरहेको छ ।
बंगलादेशले गत नोभेम्बर महिनादेखि भारतबाट प्याज आयात गर्न नपाएपछि पाकिस्तानबाट प्याज मगाउन थालेको छ । पूर्वी पाकिस्तानबाट छुट्टिएर बंगलादेश बन्न भारतको प्रमुख भूमिका छ । त्यसैले भारत र बंगलादेशको सम्बन्धमा एक किसिमको न्यानोपन रहिआएको छ ।

तर भारतले नागरिक संशोधन कानून र एनआरसी ल्याएपछि बंगलादेश चिढिएको छ ।

नागरिकता कानून अन्तर्गत पाकिस्तान, अफगानिस्तान र बंगलादेशका धार्मिक अल्पसंख्यकहरूलाई भारतको नागरिकता दिने प्रावधान छ । बंगलादेशले आफूहरूकहाँ धार्मिक कट्टरता घटेको र हिन्दूहरूका विरुद्ध कुनै किसिमको धार्मिक भेदभाव नभएको बताएको छ । अहिले भारतमा अवैध रूपमा बसिरहेका बंगलादेशीहरूलाई उतै फर्काउने कुरा पनि उठिरहेको छ । यसले गर्दा बंगलादेशमा चिन्ताको लहर छ । केही हप्तादेखि बंगलादेशको मिडियामा भारत–बंगलादेश सीमामा हताहती तथा धनजनको क्षतिका विषयमा पनि कुरा आइरहेको छ । बंगलादेश र भारतबीच मतभेद बढ्दै जाँदा यसलाई पाकिस्तान र चीनले अवसरका रूपमा लिइरहेका छन् ।

सम्बन्धित् समाचार