भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ।ती क्षेत्र भारतले आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन भारतको धार्चुलाका उप जिल्लाअधिकारी अनिलकुमार शुक्लाले जिप्रका दार्चुलालाई आग्रह गरेका हुन्।
भारतले पठाएको पत्रमा नेपाली गुट समूह भारतको गुन्जी, कालापानी, लिम्पियुरामा अवैधरूपले लुकिछिपी सीमा पार गरी आउन चाहेको उल्लेख गरिएको छ।‘जसबाट मिडियाको ध्यानाकर्षण गर्न सकियोस् ताकि दुवै देशको प्रशासनलाई हैरानी नहाेस्,’ पत्रमा लेखिएको छ, ‘अनुरोध छ कि यस प्रकारको कुनै सूचना तपाईहरूलाई प्राप्त भएमा त्यसको जानकारी तत्काल दिने कष्ट गर्नुहोला।’
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भइ पत्र पठाएको हुनसक्ने बताएका छन्। ‘अहिले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र, नेपाली सेना पुगेको छ जसकारण चहलपहल पनि बढेको छ। उताको मिडियाले त्यसैलाई आधार बनाइ समाचारहरू लेखेपछि सशंकित भएको देखिन्छ,’ उनले भने, ‘कालापानी क्षेत्रमा भने कोही पुगेको देखिन्न।’
भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सीमा विवाद सुरू भएको थियो। त्यसपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरेको थियो।








