काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रुसका राजदूत लेक्सी नोभिकभले शिष्टचार भेटवार्ता गर्नुभएको छ। अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार उहाँ र रुसका राजदूतबीच भेटवार्ता भएको हो ।
भेटमा उहाँहरुबीच दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुएको छ । रुसका राजदूतसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसले विश्व आक्रान्त बनेको स्मरण गराउँदै रुसले भ्याक्सिन बनाएपछि त्यसले आशा जनाएको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक क्षेत्रमा सीपयुक्त जनशक्ति विकासमा पुर्याउँदै आएको सहयोग तथा यी क्षेत्रमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थी लाभान्वित भएको बताउनुभयो।
नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय(समयमा हुँदै आएका भ्रमणको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले दुई मुलुकको हित प्रबर्द्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको बताउनुभयो।
राजदूतले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो।
उहाँले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताउनुभयो।
रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। ‘नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ’, राजदूतले भन्नुभयो।
उहाँले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं(मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राख्नुभयो। ुदुई देशको इच्छाशक्ति भयो भने साझेदारीका थुप्रै क्षेत्र छन्, उहाँले भन्नुभयो, नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल बिस्तारको योजना ल्याएको छ, यसमा रसिया सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार छ।ु
राजदूतले रसियाको रक्षा तथा परराष्ट्र मन्त्री र संसदीय नेतृत्वको नेपाल भ्रमणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो।







