गृहपृष्ठ खबर विभिन्न बाहानामा बढी शुल्क नलिन बाणगंगाका विद्यालयलाई मेयर थारुको आग्रह

विभिन्न बाहानामा बढी शुल्क नलिन बाणगंगाका विद्यालयलाई मेयर थारुको आग्रह

चार नम्बर जीतपुर : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह कपिलवस्तुले बुधबार २८ गते बाणगंगा नगरपालिकामा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सरकारले माध्यमिक शिक्षासम्म निशुल्क र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरुले विभिन्न बाहानामा बढी शुल्क उठाउने गरेको पाइएको सरोकारवालाहरुले गुनासो गरेका छन् । यस्तै विद्यालयमा रहेका रिक्त दरबन्दी मिलानमा समस्या देखिएको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख मंगलप्रसाद थारुले सरोकारवालाहरुले उठाएका प्रश्नको उत्तर दिँदै विकास निर्माण जादूको छडी नभएकोले विस्तारै विस्तारै हुँदै जाने बताउनुभयो । उहाँले वाणगंगा नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएको र बाँकी विकासका कार्यलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउने स्पष्ट पार्नुभयो । यस्तै विद्यालयको अवस्था अनुसार बालबालिकाका अभिभावकसँग छलफल गरी शुल्क उठाइएको प्रष्ट पार्नुभयो ।

यस्तैगरी स्वास्थ्य स्वयम् सेविकालाई एक हजारका दरले भत्ता उपलब्ध गराउने र स्वास्थ्य बिमा समेत गरिदिने निणर्य गरिएको जानकारी दिनुभयो । प्रमुख थारुले नगरको फोहोर व्यावस्थापन, छाडा चौपाया, बसपार्क निमार्ण लगायतका कुराहरु छिटो भन्दा छिटो व्यवस्थापन गर्ने बताउनुभयो । उँहाले विभिन्न विद्यालयले शिक्षा निति विपरित शुल्क उठाउने कार्य गरेकोमा तत्काल रोक्न विद्यालयहरुलाई आग्रह गरिएको बताउनु भएको छ ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले सरोकारवाला निकायहरुले उठाएका सवालका जवाफ दीदै नगरलाई समृद्ध बनाउन कार्य गरिरहेको र यसले पूर्णता पाउनका लागि क्रियाशिल भइरहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खाध्य र आवासका सवालमा उठेका समस्याहरुको समाधानका लागी नगरकार्यपालिको बैठकमा एजेण्डा बनाएर छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यस्तै वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले नगरको विकासका लागि एक ढिक्का भएर लागि परेको बताउनुभयो । उहाँले नगरले आवासका लागि खरको छानामुक्त कार्यक्रम लागू गर्ने योजना अगाडी सारेको बताउनुभयो ।

कृषि शाखा प्रमुख लेशबहादुर केसीले कृषि सम्बन्धी उठेका सवालको जवाफ दिदै कपिलवस्तुका सम्पूर्ण पालिकाले भन्दा छिटो छरितो नगर वासिकहरुको समस्या समाधान गरिएको र कृषकहरुका लागि विउ वितरण गर्दा केही अनियमितता देखिएकोले क्षेत्र तोकेर बाँडने प्रतिबद्धता जनाउनु भयो । किसानहरुले लगानी गरेजति प्रतिफल प्राप्त गर्न नसकेकोले भण्डारण गरेर राख्नका लागि नगरले स्थान छनौट गरिसकेको बताउनुभयो ।

यस्तै शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले सिकाइ उपलब्धि बढाउने योजना अनुसार नगरपालिकाले विषेश योजना अघि सारेको बताउनुभयो । उहाँले नगरपालिकामा सुस्त मनस्थिति, अपाङ्गता, बहिराका लागि विशेष शिक्षाको योजना बनाएकोे जानकारी दिनुभयो । उहाँले विद्यालयमा रहेका दरबन्दी मिलानलाई यस वर्ष नै समायोजन गरिने बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बजारमा मूल्यसूची नभएका पसलहरुलाई कारबाही गर्ने र उपभोक्ताहरु दशैं तिहारको मुखमा आउँदा ठगिने हुँदा बजार अनुगमनलाई तिव्रता दिने बताउनुभयो । उहाँले हाटबजार व्यावस्थापनका लागि नगर लाग्नुपर्ने बताउनुभयो ।

शिक्षक महासंघका अध्यक्ष देवकला कमाल (सुवेदी)ले निजी विद्यालय सरह सरकारी विद्यालय संचालन गर्न सकेमा मात्र नगर शिक्षामा अझै अगाडी बढ्ने बताउनुभयो । उहाँले निजी विद्यालयमा जाने विद्यार्थीलाई जसरी अभिभावकले ख्याल गर्नुहुन्छ त्यसैगरी नै सरकारीमा जाने विद्यार्थीलाई पनि हेर्न सकेका विद्यार्थीको भविष्य राम्रो हुने बताउनुभयो । सरकारी विद्यालयको अवस्थालाइृ सुधार गर्न नगरको विशेष योगदान हुने बताउनुभयो । यस्तै दुःख गरे अनुसार कृषकले मूल्य नपाएको समेत गुनासो गर्नुभयो ।

कार्यक्रममा रुपा राई, भेषराज पाण्डे, टोपकला विसि, ईन्सेक प्रतिनिधि पार्वती आचार्य, राधा पाण्डे, लगाएतले शिक्षा स्वास्थ्य, खाध्य सँग सम्बन्धी समस्याहरु र आवासका विषयमा समेत जिज्ञासा राखेका थिए । इन्सेक सहजकर्ता नन्दराम पौडेलले कार्यपत्रमाथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रम समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता र वाणगंगा मानव अधिकार समूहका सचिव मधु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार