गृहपृष्ठ खबर लुम्बिनी बौद्ध विश्वविद्यालयले आंगिक क्याम्पस खोल्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले आंगिक क्याम्पस खोल्ने

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले आंगिक क्याम्पस खोल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १२औं विश्वविद्यालय सभाले बुटवलमा पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो।

रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले अहिलेसम्म केन्द्रीय क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसबाट पठनपाठन गराइरहेको छ। सभाको निर्णयानुसार बुटवलमा यसै शैक्षिक सत्रदेखि सिटी क्याम्पस सञ्चालनमा ल्याइने विश्वविद्यालयका रजिस्ट्रार डा। तिलक आचार्यले जानकारी दिए। आंगिक क्याम्पस विस्तारै थप्दै लगिने उनको भनाइ छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको सभाले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत बनाउने निर्णय गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि डोल्मालाई दूत बनाइएको रजिस्ट्रार आचार्यले बताए।

सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रज्ञारत्न अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। बौद्ध दर्शनका अध्येतामध्येबाट उच्चस्तरीय कार्यदलले व्यक्ति छनोट गर्नेछ। सभाले विश्वविद्यालयका लागि २ सय ५३ जनाको दरबन्दी स्वीकृत गरेको छ। शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्वीकृत गरेको हो। चालू आर्थिक वर्षका लागि ३० करोड ६० लाखको बजेट पनि स्वीकृत गरेको छ।

 

सम्बन्धित् समाचार