गृहपृष्ठ खबर प्रधानमन्त्रीको टिप्पणी : विप्लवसँग वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि

प्रधानमन्त्रीको टिप्पणी : विप्लवसँग वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालविरुद्ध कटाक्ष गरेका हुन्।

‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’ ओलीले भने, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटि भएको छ। लौ हामी तिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’

ओलीले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको दोहोर्‍याए।

उनले अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको भन्दै उनले जसले जति अवरोध गरे पनि सरकारले विकासको गति रोकेको छैन। देश अगाडि बढ्दा केही मानिसलाई पीर परेको बताए।

‘यसले राम्रा काम गर्‍यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन्,’ ओलीले भने।

फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेकोसमेत ओलीले जानकारी दिए। विप्लव नेतृत्वको नेकपाले शनिबार एक विज्ञप्ति निकालेर महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्।

विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त तेर्स्याएका छन्।

सम्बन्धित् समाचार