काठमाण्डौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ ।
मङ्गलवार काठमाण्डौमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताउनुभएको हो । उहाँले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउनुभयो । लकडाउनले कोभिड सङ्क्रमण कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनुभयो ।
छिमेकी देशमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । यस्तै सीमा नाकामा आइसोलेशन र क्वरेण्टीन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतङ्कित नहुन पनि आग्रह गर्नुभयो ।
अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि तीन किसिमका खोपलाई मान्यता दिइ प्रचलनमा ल्याएको बताउनुभयो । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधवारदेखि सुरु हुने पनि उहाँले बताउनुभयो ।







