काठमाडौं : नेपाली कांग्रेसको आइतबार निर्धारित केन्द्रिय समितिको बैठक सोमबारका लागि सारिएको छ। बैठकका एजेन्डाबारे आन्तरिक छलफल र गृहकार्य गर्नुपर्ने भन्दै सोमबार सारिएको हो।
सोमबारको बैठक महाधिवेशको कार्यतालिकामा बढी केन्द्रित हुनेछ। १४ महाधिवेशनका लागि पूर्व निर्धारित आगामी भदौं ७ देखि १० सम्मको कार्यतालिका फेरबदल गर्नेबारेमा छलफल हुने भएको छ। आन्तरिक तयारी तथा व्यवस्थापकीय दृष्टिकोणले पनि पूर्व निर्धारित मितिमा महाधिवेशन गर्न व्यवहारिक रुपमा कठिनाइ भएको भन्दै सभापति शेरबहादुर देउवाले संवैधानिक जटिलता फुकाउनेबारे परामर्श थालेका छन्। शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई भदौंमा महाधिवेश गर्न कठिनाइ भए संवैधानिक जटिलता फुकाउन आफू तयार रहेको बताएका थिए।
नियमिति चार वर्षे अवधि सकिएर विधानअनुसार थपिएको एक वर्ष पनि गत फागुन ७ मा समाप्त भएपछि संविधानले दिएको विशेष सहुलियत उपयोग गर्दै भदौंमा सारिएको थियो। अब महाधिवेशन सार्नका लागि अध्यदेशबाट संविधान संशोधन गरेर संवैधानिक प्रावधान नै परिवर्तन गर्नुपर्ने हुन्छ।
ओलीले महाधिवेशन सार्न सघाएर देउवाको साथ र सद्भाव बटुल्दै सत्ता टिकाउने नयाँ रणनीति अपनाएको र त्यसबाट देउवा पनि प्रभावित भएको आरोप संस्थापन इतरपक्षले लगाएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो।छलफलपछि तयारी नपुगको भन्दै सोमवार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
देउवासहितको संस्थापन पक्ष बरु ओलीलाई अध्यादेश जारी गर्न लगाएर महाधिशेन सार्ने रणनीतिमा छ भने पौडेलसहितका असन्तुष्ट पक्ष तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ।
गत फागुन ५ गते बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय थियो। पूर्व निर्धारित तालिकाअनुसार गत फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो। तर कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि दुई दिनअघि मात्र कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको हो। निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि एक वर्षअघि नै सकिएकोमा पार्टीको विधानअनुसार एक वर्ष थपिएको थियो। थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संवैधानको विशेष प्रावधानको सुविधा उपयोग गर्दै छ महिनामा थपिएको हो।
आन्तरिक विवादका कारण महाधिवेशनको क्यालेन्डअनुसार क्रियाशिल सदस्यता वितरण तथा नेतृत्व चयनको प्रकृया अघि बढ्न सकेको छैन। गाउँ तथा नगर वडा अधिवेशनदेखि नगर, क्षेत्र, जिल्ला, प्रदेश स्तरीयअधिवेशनको तयारी अझै अघि बढ्न सकेको छैन। अहिले सबैभन्दा अल्झिएको र पेचिलो विषय नै क्रियाशिल सदस्यता हो। वडादेखि केन्द्रसम्म कांग्रेस नेतृत्व चयनको महत्वपूर्ण आधार नै क्रियाशिल सदस्यता हो। अहिले पाँचलाख क्रियाशिल सदस्य छन् र थप पाँच लाख वितरण गर्ने भनिएको छ। तर त्यसको मापदण्ड र विधि निश्चित नहुँदा सुरुमै विवाद भएको छ। क्रियाशिल वितरणसँगै सुरु भएको आन्तरिक किचलोले त्यो प्रभावित भएको छ। चुनावी अंकगणितलाई आफू अनुकूल बनाउन नेताहरूले मनपरी ढंगल क्रियाशिल सदस्यता बाँड्न थालेपछि विवाद भएको हो।








