पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८:०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।
उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने, ‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।’
उनका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गरेका थिए ।
अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरूप अहिले रङ्ग लगाइएको हो । ११ वैशाख ११:०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ ।
भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मंसिरसम्मको समय कुर्नुपर्नेछ ।








