वीरगन्ज : कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा संक्रमितको उपचारका लागि अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको छ। बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित भएको उपचारमा संलग्न चिकित्सकले गुनासो गरेका छन्।
वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर उपचार गर्नुपरेको अस्पतालका चिकित्सक डाक्टर नीरज सिंह बताए। सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राख्दै उनले लेखेका छन्,‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक विभागको हो, एउटै बेडमा २र३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ।’
नारायणी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएको आइसोलन वार्ड सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै आइशोलेसन वार्ड बनाएर अन्य रोगका बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गरिएको छ। त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नुपरेको डाक्टर सिंहले जानकारी दिए।
अस्पतालमा संक्रमितका उपचारका लागि सञ्चालन गरिएको ३७ बेडको आइसोलेसन वार्ड भरिभराउ भएपछि थप आएका संक्रमितलाई आकस्मिक कक्षको अब्जरबेशन वार्डमा अन्य रोगका बिरामीसँगै राख्नु परेको उनको भनाई छ।
अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसार सोमबार अपरान्हसम्म अस्पतालमा ५४ संक्रमित उपचाररत छन्। ती सबैको अवस्था जटिल रहेकाले सबैलाई अक्सिजन लगाएर राखिएको कोभिड कोर्डिनेटर डाक्टर दासले बताए।
सोमबार बिहान बेड अभाव हुँदा इमरजेन्सीको अब्जरबेसन वार्डमै आइशोलेसन वार्ड बनाएर कोरोनाका संक्रमितलाई राखेर उपचार गर्नुपरेको डाक्टर दासले जानकारी दिए। सोमबार साँझ थप ४८ बेडको आइसोलेसन वार्ड बनाएर संक्रमितहरुलाई नयाँ वार्डमा सारिने उनी बताउँछन्।








