रुपन्देही : रुपन्देही प्रहरीले १८ वर्षअघि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । २०५९ माघ १५ गते तत्कालीन पुनरावेदन अदालत बुटवलबाट फैसला भई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका साविक रुद्रपुर ९ बस्ने ७१ वर्षीय यमबहादुर खत्रीलाई पक्राउ गरिएको हो ।
उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । उनलाई फरार अपराधीको अप्रेसन कार्यक्रमअन्तर्गत बुधबार वडा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको उनले बताए ।
चन्दका अनुसार गत वैशाख १ गतेदेखि संचालित उक्त कार्यक्रमअन्तर्गत १० वर्षभन्दा बढी कैद सजाय सुनाइएका फरार ११ प्रतिवादी पक्राउ परिसकेका छन् ।








