गृहपृष्ठ Featured राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी, जसपाका को–को भए मन्त्री ?

राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी, जसपाका को–को भए मन्त्री ?

जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीको नाम तय गरेको छ । जसपाबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्नेछन् ।

जसपाका नेताहरूका अनुसार महतोले उपप्रधान तथा शहरी विकास मन्त्रालयको नेतृत्व गर्नेछन् । प्रधानमन्त्री केपी ओली पूर्वमाओवादीका नेताहरूले नेतृत्व गरेका मन्त्रालयमा जसपाका नेताहरूलाई समाहित गर्ने प्रयासमा देखिन्छन् । तिनै मन्त्रालयका विषयमा प्रधानमन्त्री ओली र जसपाका नेताहरूबीच छलफल भइरहेको छ ।

पूर्वमाओवादीका नेता रामबहादुर थापा ‘बादल’ले नेतृत्व गरेको गृह मन्त्रालय भने जसपाको भागमा पर्ने सम्भावना छैन । नेता राजेन्द्र महतोले गृह मन्त्रालय दाबी गरेको भए पनि पनि प्रधानमन्त्री ओली सहमत भइसकेका छैनन् ।

पूर्वमाओवादीको भागमा सातवटा मन्त्रालय थिए । अहिले जसपाको ठाकुर-महतो पक्षले आठवटा मन्त्रालय पाउने भएकाले एमालेका केही मन्त्रीहरू पनि फेरबदल हुने सम्भावना छ ।

जसपाका एक नेताका अनुसार आजै जसपाका नेताहरू मन्त्री हुने अवस्था आए आठ जना नै जाने सम्भावना कम छ । त्यसैगरी, जसपाका अर्का नेता शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिने र खानेपानी तथा सरसफाइ मन्त्रालय अनिल झाको जिम्मेवारी पाउने भएका छन् ।

त्यसैगरी, जसपाबाट चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव र उमाशंकर अरगरिया पनि मन्त्री बन्नेछन् । यसैगरी एकवाल मिया र रेनुका गुरुङलाई भने राज्यमन्त्रीमा बनाइनेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव छाडेर ठाकुर–महतो पक्षमा लागेका श्रीवास्तव, अरगरिया र गुरुङले मन्त्रालय सम्हाल्ने मौका पाउन लागेका हुन् । अध्यक्ष यादवलाई छोडेर पाँच जना निवर्तमान सांसद ठाकुर पक्षमा लागेका थिए । यादवलाई छाडेका रुही नाज र कलुदेवी विश्वकर्माले भने तत्काल अवसर पाउने छैनन् ।

जसपाका नेताहरूको भनाइमा श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, चन्दा चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, एकवाल मियाले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छन्  भने अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

सम्बन्धित् समाचार