गृहपृष्ठ खबर लुम्बिनी प्रदेश : १० महिनामा ४९ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश : १० महिनामा ४९ प्रतिशत बजेट खर्च

बुटवल : लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो ।

लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६।१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३।३६ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये वैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । आर्थिक वर्षको बाँकी २ महिनामा १० अर्ब ९० करोड खर्च होला भन्नेमा विकासे मन्त्रालयकै अधिकारीहरु आशंका व्यक्त गर्छन् ।

प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख हो । वैशाख मसान्त सम्मको १० महिना अवधिमा १८ अर्ब ५२ करोड ९५ लाखमात्र खर्च भएको छ । चालु आर्थिक वर्षका १० महिनामा प्रदेश सरकारले कुल बजेटको ४९।४७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा कार्यालयका प्रमुख दिपक ज्ञवालीले बताए ।

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्चदर भने खासै बढ्न सकेको देखिँदैन । सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले कोभिड–१९ ले हरेक क्षेत्रलाई प्रभावित पारेकाले बजेट खर्चमा केही कमी देखिएको बताए । यद्यपि गत वर्षको तुलनामा धेरै नै काम भएको उनको दावी छ ।

उनले भने, ‘खासगरी प्रदेशमा भौतिक पूर्वाधारका काम धेरै भएका छन्, सिंचाई, खानेपानी, सडकका क्षेत्रमा उल्लेख्य काम भए पनि प्रायः आर्थिक वर्षको अन्तिमतिर बिल पास हुने भएकोले अहिले खर्च कम देखिएको हो ।’

आर्थिक वर्ष सकिने बेलासम्म खर्चको अनुपात बढ्ने सरकार पक्षको दावी छ । लुम्बिनी प्रदेशमा गत वर्ष ७० प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो ।

सम्बन्धित् समाचार