देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र बागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश- १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
साथै प्रदेश- १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला र खरे खोलमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।








