गृहपृष्ठ Featured युरोपेली देशहरूमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या

युरोपेली देशहरूमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या

युरोपेली देशहरूमा कोरोना भाइरसबाट संक्रमितको संख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि वृद्धि भएको बिहीबार जानकारी दिएको हो ।

डब्लुएचओले संक्रमितको संख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सबै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरूप्रति सबै सतर्क हुनुपर्दछ,’ संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुग भन्छन् ।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो । उनले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए । उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार