गृहपृष्ठ अर्थ/वाणिज्य सामाजिक सुरक्षा कोषको विरोधमा मेगा बैंक नेपाल लि. जीतपुर शाखाका कर्मचारी आन्दोलित

सामाजिक सुरक्षा कोषको विरोधमा मेगा बैंक नेपाल लि. जीतपुर शाखाका कर्मचारी आन्दोलित

सागर वि.क. (वैखरी अनलाइन) : सरकारले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई असार मसान्तभित्रै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पत्र काटेसँगै मेगा बैंक नेपाल लिमिटेड जीतपुर शाखाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले विभेदकारी योजनामा जान बाध्य बनाएको भन्दै बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार( आज) सामाजिक सुरक्षा कोषप्रति आफ्नो असहमति जनाउदैं उनीहरुले कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने शाखाका म्यानेजर सरोज भण्डारीले बताए । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले देशभर जसो नै आन्दोलन गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विगतदेखि नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । तर, कोषले यसलाई बाध्यकारी बनाएपछि आन्दोलनमै उत्रिनुपरेको बैंकका कर्जा शाखा प्रमुख फर्सुराम गैरेको दाबी छ । बैंकका अपरेसन ईन्चार्ज शारदा मरासीनीले विभेदकारी योजनाको व्यवस्थामा संशोधन गरिनु पर्ने बताईन् ।

साथै श्रीमान र श्रीमती दुबैजना जागीरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने अवस्था कोषमा राखिनु, ५८ वर्षमा अवकाश हुने व्यवस्था विपरित ६० वर्षको उमेरपछि मात्र कोषमा जम्मा भएको रकम प्राप्त हुने र जागिरे अवधीमा कसैको निधन भएमा परिवारले आधा मात्रै पेन्सन पाउने व्यवस्था विद्यमान सुविधाको विपरित भएकाले कोषमा आबद्ध हुन नसकिने निजी क्षेत्रका बैंकका कर्मचारीको धारणा रहेको ईन्चार्ज मरासीनीको भनाई छ ।

सम्बन्धित् समाचार