गृहपृष्ठ खबर अन्तत: जसपा फुट्ने पक्कापक्की !

अन्तत: जसपा फुट्ने पक्कापक्की !

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल आधिकारिक रूपमा फुट्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजनसम्बन्धी प्रक्रियामा अगाडि बढ्न दुवै पक्ष सहमत भएका हुन् ।

जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउन भन्दै छलफलमा राखेको थियो । तर, जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रियाअनुरूप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताए । अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने र इजलासले सुनुवाइको प्रक्रिया अगाडि बढाएर विवादको निरुपण गर्ने बताए ।

जसपा उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुरपक्षीय नेताहरूले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुन सक्ने बताए । पार्टीमा चैत ६ गते प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुन सक्ने कुरा आफूहरूले छलफलका क्रममा राखेको उनले बताए ।

पार्टी एकता हुने कि नहुने भन्नेमा महन्थ ठाकुर पक्षको हात रहेको र पार्टीको आधिकारिकता भने निर्वाचन आयोगले आफूहरूलाई दिने नेता यादवले दाबी गरे ।

जसपा महन्थ ठाकुर पक्षका नेता अनिलकुमार झाले आफूहरूले कुनै पनि गल्ती र असंवैधानिक काम नगरेकाले क्षमा माग्नुपर्ने अथवा आत्मालोचना गर्नु आवश्यक नरहेको बताए । उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ अगाडि बढेको उनले बताए । आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडि बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

निर्वाचन आयोगमा भएको छलफलमा उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित थिए ।

सम्बन्धित् समाचार