गृहपृष्ठ Featured आचार्यले सम्हाले ऊर्जा, मनाङे तेस्रो पटक बने खेलकुदमन्त्री

आचार्यले सम्हाले ऊर्जा, मनाङे तेस्रो पटक बने खेलकुदमन्त्री

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दा ब्युँतिएर २०७४ मंसिरमा मनाङबाट गण्डकी प्रदेश सभा सदस्यको चुनाव जितेर पनि राजीव गुरुङ (दीपक मनाङे)ले सपथ लिन पाएनन् । तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ मा स्वतन्त्र सांसद बनेका मनाङे जेलमुक्त भएर १४ महिनापछिमात्र सपथ लिन पाए ।

नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि २०७५ पुस ६ गते जेलमुक्त भए र माघ १४ गते सपथ लिएर गण्डकी प्रदेश सभा छिरेका मनाङे त्यसयता निरन्तर चर्चामा मात्रै रहेनन्, सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै तेस्रो पटक मन्त्री बनेका छन् ।

यसअघि पृथ्वीसुब्बा नेतृत्वको सरकार अल्पमतमा परेका बेला वैशाख १६ गते मनाङे मन्त्री बनेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिएर वैशाख २९ गते संसदको ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री भपछि जेठ ५ गते मनाङेलाई फेरि खेलकुदमन्त्रीमा दोहोर्याए ।

पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्ने पक्का भइसकेको थियो । उनले साथ दिँदा विपक्षी गठबन्धनको सरकार बन्न सक्ने अवस्था थियो । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन जेठ २६ गते मन्त्री मनाङेले पृथ्वीसुब्बाको साथ छोडेर विपक्षीलाई साथ दिएका थिए ।

२७ गते पृथ्वीसुब्बाको सरकार ढलेर २९ गते मनाङकै समर्थनको जगमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भए । मुख्यमन्त्री नेपालीले सोही दिन मनाङेसहित चार जनालाई बिना विभागीय मन्त्री बनाएका थिए ।

गठबन्धनमा मन्त्रालय बाँडफाँटमा किचलो सुरु भएकाले नेपालीले बिना विभागीय मन्त्री बनाएका थिए । भौतिक पूर्वाधार मन्त्रालय दाबी गरिरहेका मनाङेले यसअघि कृष्णचन्द्रले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिँदा अस्वीकार गरेका थिए ।

सम्बन्धित् समाचार