गृहपृष्ठ खबर ५५ विधेयक संसद्‍मा बन्धक : देउवा अध्यादेशको अस्त्रतिर

५५ विधेयक संसद्‍मा बन्धक : देउवा अध्यादेशको अस्त्रतिर

काठमाडौं : दुवै सदनको अधिवेशन सोमबार मध्यरातबाट अन्त्य गरिएको छ। यो अधिवेशनको पहिलो बैठक ३ साउनमा बसेको थियो। २९ दिनसम्म चलेको अधिवेशनमा प्रतिनिधिसभाको १० र राष्ट्रिय सभाका १२ वटा बैठक बसे।

यो अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएनन्। प्रतिनिधिसभाले कुनै विधेयक पनि पारित गरेन। राष्ट्रिय सभाले भने नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण, तथ्यांक विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, स्ट्यान्डर्ड नाप र तौल विधेयक, रेल्वे विधेयक तथा प्रत्यायन विधेयक पारित गर्‍यो। यो अधिवेशनमा १६ वटा अध्यादेश खारेज भएको जानकारी संसद्लाई दिइयो।

संसद् अधिवेशन अन्त्य गरेर शेरबहादुर देउवा नेतृत्वको सरकार पनि अध्यादेशको तयारीमा लागेको छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बलमा शासन चलाएको भन्दै आलोचना गर्दै आएका दलहरू सम्मिलित गठबन्धन सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको गृहकार्य थालेको छ।

गठनको महिना दिनभन्दा बढी समय बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता र सदनलाई बिजनेस दिन नसकेको सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो।

संसद्‍मा भएका ५५ विधेयक कुन–कुन हुन् ?

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ लाई संशोधन गर्न बनेको विधेयक, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, निकासी–पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बिउ–बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक, बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, विद्युत् विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, प्रत्यायन (एक्रिडिटेसन) विधेयक, स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, सामाजिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, तथ्यांक विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, अध्यागमन विधेयक, भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, रेल्वे विधेयक, नेपाल विशेष सेवा विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक।

 

सम्बन्धित् समाचार