फ्रेन्च लिगवानमा गएराति मार्सेली र नाइसबीचको खेल रोकिएको छ। नाइसको घरेलु मैदान एलिनाज रिभिएरामा सम्पन्न खेलमा मार्सेलीका खेलाडीमाथि आक्रमण भएको हो। खेलमा नाइस एक गोलले अघि रहेको अवस्थामा डिमिट्री पेयट कर्नर लिन जाँदै गर्दा उनलाई घरेलु समर्थकले पानीको बोतल प्रहार गरेका थिए। लगातार प्रहार भएपछि उनले पनि त्यो बोतल टिपेर समर्थकहरुतर्फ फ्याँके। त्यसपछि आक्रामक बनेका समर्थकहरु झगडा गर्न मैदानसम्मै उत्रिए।
खेल निकै समय ढिला भए पनि नाइसका खेलाडीहरुले खेल सक्न तयार भएका थिए तर मार्सेलीका खेलाडीले यसलाई अस्वीकार गरिदिए। र, खेल त्यतिकैमा रद्ध भयो।
यसबीच मार्सेलीका केही खेलाडीहरुलाई चोट लागेको बताइएको छ। त्यसअघि अघि पनि खेल अवधिभर घरेलु समर्थकहरुले मार्सेलीका खेलाडीमाथि पानीका बोतलले आक्रमण गरेका थिए।
नाइसका अध्यक्ष जेन पियरे रिभेरेले पनि समर्थकहरुलाई शान्त हुन पटकपटक आग्रह गरेका थिए। दुई हप्ता अघि पनि मार्सेलीका खेलाडीहरु मन्टपेलियरसँगको खेलमा समर्थकको निशानामा परेका थिए।








