काठमाडौं : पशुपतिनाथको मूल मन्दिर आजबाट खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द भएको मुल मन्दिर आजबाट खुला गरिएको हो। खुला गर्नु अघि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५स्३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरेको हो। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।







