गृहपृष्ठ खबर साफ च्याम्पियनसिप २०२१ : बंगलादेश र भारतबीच बराबरी

साफ च्याम्पियनसिप २०२१ : बंगलादेश र भारतबीच बराबरी

१० खेलाडीमा सीमित बंगलादेशले सोमबार साफ च्याम्पियनसिप २०२१ मा भारतलाई १–१ को बराबरीमा रोकेको छ । यो नतिजापछि बंगलादेश दुई खेलबाट चार अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायम रह्यो ।

भारत भने १ अंकमा तेस्रो स्थानमा रह्यो । यस खेलसँग प्रतियोगितमा सहभागी प्रत्येक टिमले कम्तीमा एक खेल खेलेका छन् । नेपाल तीन अंकसहित दोस्रो स्थानमा छ ।

नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले ७४ औं मिनेटमा गोल फर्काएको हो । उसका लागि यासिन अराफातले गोल गरे र खेल बराबरीमा टुंगियो । खेलको पहिलो गोल भारतका लागि सुनिल क्षेत्रीले गरे ।

उनले २६ औं मिनेटमा उडन्तसिंह कुमनले मिलाएको पासमा नजिकको दूरीबाट गोल गरे । खेलको ५४ औं मिनेटमा बंगलादेशले सिधा रातो कार्डमा विश्वनाथ घोषलाई गुमाएको थियो । विश्वनाथले सुभाषिश घोषलाई लडाएका थिए ।

तर, भारतले एक खेलाडी बढी भएको अवसरका फाइदा उठाउन सकेन र बराबरीमा चित्त बुझाउन बाध्य रह्यो । बंगलादेशले सन् २००३ यता भारतलाई हराउन भने सकेको छैन ।

सोमबारको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई हराएको थियो । श्रीलंका आफ्नो पहिलो खेलममा बंगलादेशसँग पराजित भएको थियो र माल्दिभ्ससँगै शून्य अंकमा लिग तालिकाको पुछारमा छ ।

सम्बन्धित् समाचार