काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो पीडितहरूको उद्धार तथा व्यवस्थापन र वेपत्ताको खोजीमा राज्यका संयन्त्रहरूलाई परिचालित गर्न सरकारलाई आग्रह गरेकी छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले घाइतेहरूको उपचार, पीडितलाई राहत वितरण गर्न राज्यका संयन्त्रलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी हुन्।
भण्डारीले प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
भण्डारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गरेकी छन्। उनले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आव्हान गरेकी छन्।
राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्न सबै पक्षले सावधानी अपनाउनु पर्ने जनाएकी छन्।








