काठमाडौँः नेकपा एमालेको जारी स्थायी समिति बैठकमा नेता भीम रावलले पाँच बुँदे फरक मत पेश गरेका छन्। यसअघिको दश बुँदे कार्यान्वयन नभएको भन्दै रावलले फरक मत राखेको बताएका छन्। फरक मतमा अर्का नेता घनश्याम भुसालले पनि आफ्नो धारणा राखेका छन्।
यस्तै, रावलले दश बुँदे कार्यान्वयनका लागि गठित कार्यदलबाट पनि राजीनामा दिएका छन्। सहमति कार्यान्वयन नभएको भन्दै रावलले राजीनामा दिएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले सुरुमा सहमति कार्यान्वयन हुने बताए पनि स्थायी समितिमा कार्यान्वयन नहुने आसय सुनाएपछि रावलले फरक मत र राजीनामा पेश गरेका हुन्।
सहमति अनुसार पार्टी विधान र अन्तरपार्टी निर्देशनमा समेत दश बुँदेको आसय समेट्ने भनिए पनि त्यसो हुन नसकेको रावलले बताए। पार्टीमा आफ्नो भूमिका के हुने भन्ने विषय गौण रहेको रावलले बताए।
तर, पार्टी, प्रवक्ता प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनमा केही समस्या रहेको भन्दै आउँदो केन्द्रीय कमिटी बैठकसम्म विवाद मिलाउने दाबी गरे।
एमालेले कात्तिक ११ गते केन्द्रीय कमिटी बोलाएको छ। भने, केन्द्रीय कमिटीको निर्णय स्वीकृत गर्न १२ गते स्थायी समिति बैठक बोलाएको छ। केन्द्रीय कमिटीमा महाधिवेशन प्रतिनिधि छनोट र मापदण्डबारे छलफल गर्नेछ।
यस्तै, बैठकले आगमी महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको छ।
बैठकले दशौँ महाधिवेशन व्यवस्थापन समितिलाई पूर्णता दिएको छ।








