गृहपृष्ठ Featured रूपन्देहीमा पुरस्कृत भएको भोलिपल्टै डिएसपीको सरुवा

रूपन्देहीमा पुरस्कृत भएको भोलिपल्टै डिएसपीको सरुवा

रूपन्देही : जिल्लाले कार्यसम्पादनमा उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षकलाई गृह मन्त्रालयले भोलिपल्टै सरुवा गरेको छ ।

रूपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीबाट असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार ग्रहण गर्दै डिएसपी मदन कुँवर ।
रूपन्देही प्रहरीले चलाइरहेको ‘हाई इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अभियान अन्तर्गत असोज महिनाको उत्कृष्ट प्रहरीको रुपमा शनिबार इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई घोषणा गर्दै पुरस्कृत गरेको थियो । कुँवरले अभिलेखमा उल्लेख हुने गरी नगदसहित पुरस्कार पाएका छन् । तर गृह मन्त्रालयले उनलाई आइतबार कार्य सम्पादन कमजोर रहेको भन्दै काज सरुवा गरेको हो ।

रूपन्देही प्रहरीले जिम्मेवारी अनुसारको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएको, फरार अपराधी पक्राउ गरेको, अवैध सामान र लागूऔषध बरामद एवं नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको र मातहतका प्रहरी कर्मचारीलाई पनि गैरव्यावसायिक गतिविधि नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरेको थियो । उनी इलाका प्रशासन कार्यालयबाट ४ महिनामै प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा सरुवा भएका हुन् । प्रहरी नियमावली २०७१ अनुसार जिम्मेवारी सम्हालेको एक वर्ष नपुगी सामान्यतया सरुवा नगर्ने उल्लेख छ ।

प्रहरी स्रोतका अनुसार डिएसपी कुँवरलाई गृहमन्त्रीको गृहनगर तिलोत्तमा नगरपालिकाको मणिग्राममा मृत्यु भएकी सीता भण्डारी प्रकरणसँग जोडेर गृहमन्त्री बालकृष्ण खाँणको ठाडो आदेशमा सरुवा गरिएको हो । गृहमन्त्री खाँण एक महिनाअघि गृहनगर आएर फर्किएका थिए । कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी मणिग्रामकी सीता भण्डारीलाई परिवारले हत्या गरेको आरोप लगाउँदै माइती पक्षले ४५ दिनसम्म निरन्तर आन्दोलन गरेका थिए । ४५ दिनपछि सीताको परिवार र माइती पक्षबीच ११ लाख रुपैयाँ लेनदेनपछि विवाद टुंगिएको थियो । सोही घटनामा प्रहरीले माइती पक्षको किटानी जाहेरी लिन नमानेको आरोप कुँवरलाई लगाइएको थियो ।

कुँवरको स्थानमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीको काज सरुवा गरिएको छ । केसीले केही वर्षअघि बुटवलको वडा प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुपमा काम गरेका थिए ।

सम्बन्धित् समाचार