काठमाडौं : कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरूले सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।
उनीहरुले कोभिड महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्यूँताउन आवश्यक रहेकोमा जोड दिए । व्यवसायी राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको हो । महामारीका कारणले पर्यटन व्यवसाय बन्द हुँदा बेरोजगारी बढेको जानकारी दिएको छ ।
पर्यटन आगमन न्यून हुँदा विदेशी मुद्रा अभाव लगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष कमिटी गठन गरी पर्यटनलाई मूर्तरूप दिन प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।








