प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गरेको छ । बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाकाबीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।
‘मिति ०७८ कात्तिक १४, १५, १६ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने,’ बारले पदाधिकारी बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारको योजना छ । इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ ।








