गृहपृष्ठ Featured टी-२० विश्वकप : भारत आज न्यूजील्यान्डसँग हारे के हुन्छ ?

टी-२० विश्वकप : भारत आज न्यूजील्यान्डसँग हारे के हुन्छ ?

टी-२० विश्वकपमा आज भारत र न्यूजील्यान्डको क्रिकेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ। र दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।

भारतले हालसालै पाकिस्तानबाट नराम्रो हार बेहोरेको थियो। यस्तो अवस्थामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अघिल्लो खेलमा भएका गल्तीहरू सुधार्ने बताएका छन्।

समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा उनले टोली कहाँ चुक्यो भन्ने कुरा आफूहरूले बुझेका बताएका छन्।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतीय टोली १० विकेटले पराजित भयो र पाकिस्तान इतिहास रच्न सफल भयो। विश्वकप खेलमा पाकिस्तानसँग भारतको यो पहिलो हार थियो।

कोहलीले आफूहरूले पाकिस्तानी टोलीलाई हल्का रूपमा लिएको भन्ने कुरा पनि अस्वीकार गरेका छन्। टी-२० विश्व कपमा भारतका लागि न्यूजील्यान्डसँगको प्रतिस्पर्धा निकै महत्त्वपूर्ण हुने छ। सेमिफाइनलसम्म पुग्नका लागि भारतले यो खेल जित्न जरुरी छ।

पछिल्लो अवस्था हेर्दा यो खेल दुवै देशका लागि गर वा मर को स्थिति हुने देखिन्छ।

सेमीफाइनलको बाटो खुल्छ
समूह दुईका यी दुवै टोलीले पाकिस्तानसँगको पहिलो खेलमा हार बेहोरेका थिए। र आजको खेलमा एक अर्कालाई नहराईकन सेमिफाइनलसम्म पुग्न लगभग असम्भव देखिन्छ।

उक्त समूहमा पाकिस्तान, न्यूजील्यान्ड, भारत, नामीबिया, स्कटल्यान्ड र अफगानिस्तान छन्। पाकिस्तानले समूह चरणको खेलमा भारत, न्यूजील्यान्ड र अफगानिस्तानसँग खेलेको तीन वटै खेल जितेको छ।

शीर्ष स्थानमा रहेको उक्त टोलीले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ।

सम्बन्धित् समाचार