सर्लाही : सर्लाहीको महिनाथपुरबाट रौतहट जोड्ने सडक बूढी वाग्मती खोलाले भत्काएको महिनौं बितिसक्यो । सडक मर्मत नहुँदा यात्रीहरू स्थानीयले बनाइदिएको बाँसको लच्काबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक दिन मोटरसाइकल लच्काबाट चिप्लेर खोलामा लड्दा यात्रीहरू घाइते हुनु सामान्य बनेको छ ।
सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरस्थित वाग्मती खोलामा पक्की पुल बनेपछि यो सडकमा यात्रुको चाप बढेको छ । तर बूढीवाग्मतीले वर्षाको सुरुवातमै सडक भत्काएपछि बन्न सकेको छैन । ह्युमपाइपबाट पानीको निकास हुन नसकेपछि बूढीवाग्मतीले सडक भत्काएको थियो ।
झन्डै तीन महिनाभन्दा अघि भत्किएको सडक अहिलेसम्म पनि बन्न सकेको छैन । व्यस्त सडकमा यात्रुको चाप रहेपछि महिनाथपुरका स्थानीयले सडक भत्केको स्थानमा बाँसको लच्का बनाएर यात्रुसँग पैसा असुल्ने गरेका थिए । सडकमा हिँड्दा पैसा तिर्नुपरेपछि स्थानीयले गाउँपालिकामा गुनासो गरे । गाउँपालिकाले पैसा उठाउन बन्द गरे पनि सडक भने बन्न सकेको छैन ।
बाँसले बनेको लच्कामा जोखिमपूर्ण यात्रा गर्नुपरेको सिसौटियाका कुन्दनकुमार झाले बताए । उनले सर्लाही र रौतहट जोड्ने वाग्मतीमा पुल बनेपछि यस क्षेत्रका नागरिकका लागि सहज भए पनि बूढीवाग्मतीले सडक भत्काएको तीन महिनाभन्दा बढी भइसक्दा पनि कसैको ध्यान जान नसकेको जनाए । उनले दर्जनभन्दा बढी मानिस यो पुलबाट चिप्लेर लडिसकेको बताए । -रासस








