रुपन्देही : प्रदेश सरकारले लुम्बिनीलाई फूलैफूलको प्रदेश बनाउने लक्ष्य राखेकै बेला कोराना र बेमौसमी झरी बाधक बनेको छ । प्रदेशलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउँदै भारतीय फूलको आयात रोक्ने अभियानका साथ पुष्प खेतीमा लागेका प्रदेशका किसानहरु कोरोना र हालैको बेमौसमी झरीका कारण मारमा परेका छन् । फूलैफूलको पर्व मानिने तिहारलाई लुम्बिनीका किसानले अवसरका रुपमा लिन सकेनन् । गत वर्ष कोरोनाका कारण थलिएका किसान यो वर्ष फूल खेतीमा हौसिएका थिए । तर, यस वर्ष बेमौसमी झरीले फूल खेतीमा प्रतिकुल असर गर्दा उनीहरु मारमा परेका हुन् । पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक रमेश पाण्डेले दसैँ सकिएलगत्तै बेमौसमी झरीले फूलका बोट ढालेका कारण उत्पादन कम भएको बताए ।
अर्कोतिर भारतको विहार लगायतका ठाउँमा पनि वर्षाले त्यस्तै असर गर्दा यो सिजनमा फूल उत्पादन घटेको छ । उत्पादन घटेसँगै तिहारमा फूलको मूल्य बढेको छ । जसले गर्दा उपभोक्ताका लागि तिहार महँगो पर्ने भएको हो । फूलमा लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेशका विभिन्न ठाउँमा समूगतरूपमा र एकल लगानीमा फूलखेती गर्न थालिएको थियो । आवश्यक फूल भारतीय बजारबाट ल्याउनु नपर्ने गरी काम भइरहेका बेला कोरोना र झरीले नोक्सान गरेको संयोजक पाण्डेले बताए ।
प्रदेश सरकारका कृषि मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले धेरै पानी परेकाले अन्य क्षेत्रका किसानको जस्तै लुम्बिनीका पुष्प व्यवसायी पनि मर्कामा परेको बताए । फूलैफूलको लुम्बिनी प्रदेश बनाउन किसानलाई तालिम र आवश्यक बीउबिजन प्रदेशको कृषि मन्त्रालयबाट प्राप्त हुनेगरी प्रदेश सरकारकै योजनाअनुसार फूलैफूलको प्रदेशका रूपमा लुम्बिनीलाई चिनाउने गरी काम भएको उनले दाबी गरे । तिहारमा लुम्बिनी प्रदेशमा ५ लाख माला आवश्यक पर्ने अनुमान पुष्प व्यवसायीहरूको छ ।
यसैअनुसार लुम्बिनी नर्सरीले मात्रै २ लाख फूलका बिरुवा र समूहगत रूपमा प्रदेशका ९ जिल्लामा २ लाख गरी ४ लाख र घर घरबाट व्यक्तिगत रुपमा झन्डै १ लाख माला हुने गरी फूल उत्पादन गर्ने लक्ष्य थियो । तिहारको लागि तयार हुन थालेका फूलमा बेमौसमी झरीले झट्का दिएको पुष्प व्यवसायी पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२ का दामोदर घर्ती बताउँछन् । उनले गत वर्ष ३ रोपनीमा फूलखेती गरेकोमा अहिले वृद्धि गरेर ५ रोपनीमा लगाएका थिए । बेमौसमी वर्षाले फूलका बोट ढलेसँगै उनको उक्त योजना पनि पूरा नहुँदै ढलेको छ ।
उनले पाल्पामा उत्पादन गरेको फूल तानसेन, बुटवल, भैरहवा, नवलपरासीको बर्दघाटसम्म बिक्री गर्ने गरेको बताए । घर्तीले लामो समय भारत बसेर काम गरेका थिए । पछिल्ला वर्षमा उनी घरमै बसेर फूलखेती गर्न थालेका हुन् । भारतबाट हुने फूल आयात रोक्न संघले पहाडका किसानहरुसँग समन्वय गरेर तराईमा फूल तथा मालाहरु पठाउने काम गरिरहेको संयोजक पाण्डेले बताए ।








