गृहपृष्ठ Featured आन्दोलन थप सशक्त बनाउने बारको तयारी

आन्दोलन थप सशक्त बनाउने बारको तयारी

नेपाल बार एसोसिएसनका इकाइहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । आवश्यकताअनुसार आन्दोलनलाई इकाइ तहसम्म लैजानुपर्ने उनीहरूको राय छ ।न्यायालय सुधारका लागि जबराले राजीनामा दिनुपर्ने मागसहित आन्दोलनरत नेपाल बारले दोस्रो चरणको आन्दोलनअघि इकाइहरूसँग सुझाव माग्न आइतबार भर्चुअल छलफल गरेको थियो । देशभरका ९० इकाइमध्ये आइतबार ४० वटासँग छलफल भएको र बाँकीसँग सोमबार सुझाब लिने महासचिव लीलामणि पौडेलले बताए ।

छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनले त २६ कात्तिकसम्मको दोस्रो चरणको आन्दोलनको खाकासहित नै केन्द्रलाई सुझाब दिएको छ । सो आन्दोलनपछि पनि राजीनामा नआए प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमै रोक लगाउने गरी संघर्षमा उत्रिन सर्वोच्च बारको सुझाब छ । ‘समय अभावले गर्दा आज २५ इकाइका २९ साथीहरूले मात्र बोल्न सक्नुभयो । अधिकांश साथीले बारको आन्दोलनलाई समर्थन जनाउनुभएको छ । प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको भन्दै उहाँहरूले आवश्यकताअनुसार आन्दोलन सशक्त र इकाइ तहसम्म लैजान सुझाव दिनुभएको छ,’ महासचिव पौडेलले भने ।

सम्बन्धित् समाचार