विराटनगर : विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको आरोप लगाउँदै कैदीबन्दीहरू झडपमा उत्रिँदा ६ जना घाइते भएका छन्। चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेले अनावश्यक र निर्मम यातना दिएको कैदीबन्दीको दुखेसो छ। असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि दोहोरो झडप भएको थियो।
झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएको कारागार प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए। अन्य घाइतेमा नाइकेहरु शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
आन्दोलित कैदीबन्दीले चौकीदार गुरुङको समूहका नाइके, भाइनाइके र अन्य गरी १४ जनालाई जेलभित्रैको एक कोठामा थुनेका थिए।








