गृहपृष्ठ Featured धनगढीको एयरक्राफ्ट म्युजियम सारिँदै

धनगढीको एयरक्राफ्ट म्युजियम सारिँदै

धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) सर्ने भएको छ । म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियम धनगढीबाहिर सार्न लागिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले क्याप्टेन बेद उप्रेतीले बेद उप्रेती ट्रस्टमार्फत नौ वर्षअघि एयरक्राफ्ट म्युजियम स्थापना गरेका थिए । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको छ । एयरक्राफ्ट म्युजियममा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन् । म्युजियमभित्र जेट ककपिटको अवलोकन पनि गर्न पाइन्छ ।

६ महिना लगाएर ग्राउन्डेड विमानका पार्टपुर्जा ल्याएर एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याइएको ट्रस्टले जनाएको छ । डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको संग्रहालय जग्गा नपाउँदा सार्नुपर्ने अवस्था आएको उप्रेतीले बताए । उनले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले नयाँ जग्गा पाउन समस्या भइरहेको बताए ।

सम्बन्धित् समाचार